7 महिना अगाडी
2079-02-29
मिति २०७९/०२/२९ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेत (विपद् व्यवस्थापन समिति) को आयोजना र जिल्लास्थित जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य कार्यालय/संघ/संस्थाहरुको सहकार्यमा भेरीगंगा नगरपालिका वडा नं. ११ र लेकबेशी नगरपालिका वडा नं. १ को भेरी नदि किनारको चिप्ले (भेरी बबइ डाइभर्सन क्षेत्र) मा मनसूनजन्य कृत्रिम घटना अभ्यास कार्यक्रम प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त घटना अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गण रक्तकालीका साथै यस जिल्लामा क्रियाशिल विभिन्न क्षेत्रगत उपसमिति (Cluster) का अगुवा कार्यालय/संघ/संस्थाहरुले वाढिबाट प्रभावित भई विपद्मा परेका नागरिकहरुलाई के-कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरियो। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरुबाट खोज उद्धारको विपद्कला प्रदर्शन गर्नुका साथै नेपाल रेडक्रस सोसाइटी लगायत अन्य संघ संस्थाहरुबाट प्राथमिक उपचारका साथै स्वास्थ्य सम्बन्धी उपचार कार्यको अभ्यास गरियो। उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालका साथै लेकबेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक लगायत विभिन्न सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।
उक्त घटना अभ्यास कार्यक्रम पश्चात् मन्तव्यका क्रममा सबै संघ संस्थाहरुको तर्फबाट नेपाल रेडक्रस सोसाइटीका सभापति रामलाल आचार्यले विपद्को समयमा सबै संघ संस्थाहरु आपसी समन्वय गरी सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुका साथै वीरेन्द्रनगर नगरपालिका र लेकबेशी नगरपालिकाका उपप्रमुख ज्यूहरुबाट स्थानीय तहमा विपद् व्यवस्थापनको स्थिति र जिम्मेवार रहनुपर्ने अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो।उक्त कार्यक्रममा उपस्थित सबै कार्यालय/संघ/संस्थाका प्रतिनिधिहरुलाई विपद्को समयमा एकजुट भई कार्य गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालले यस्ता घटना अभ्यास कार्यक्रमबाट विपद्को समयमा खोज उद्धार लगायतका विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्न आफ्नो तयारी र क्षमता मापन गर्न सकिने हुँदा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यस कार्यक्रममा सहभागी सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नु भयो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत
Powered By: ProActive Developers