2076-12-06
2076-12-06

मिति २०७६।१२।०६ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भयो । उक्त बैठकबाट कोरोना भाइरस (COVID-19) को संक्रमण र जोखिमको बारेमा तथा यसबाट बच्न अपनाउनु पर्ने सावधानी र सो सम्वन्धमा यस जिल्लामा भइरहेको तयारीको बारेमा जनस्वास्थ्य सेवा कार्यालयका प्रमुखबाट जानकारी भयो । साथै कोरोना भाइरस (COVID-19) को विश्वव्यापी संक्रमण फैलिरहेको सन्दर्भमा यस जिल्लामा समेत सावधानी तथा सर्तकता अपनाउने एवं सो को नियन्त्रणका लागि पूर्वतयारीको निम्ति सबै स्थानीय तहले प्रचारप्रसार एवं सचेतनामूलक कार्यक्रम संचालन गर्ने, विपद्को सन्दर्भमा Emergency Shelter (आश्रय स्थल) पहिचान गर्न प्रत्येक स्थानीय तहबाट विभिन्न विद्यालय, सार्वजनिक भवन, सार्वजनिक खाली जमिन र सार्वजनिक सेल्टरका लागि उपयुक्त स्थान पहिचान गरी संकलित विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने, कोरोना भाइरस (COVID-19) को शंस्कापद व्यक्तिहरुको पहिचान भएमा निजको उपचारको लागि Isolation Ward को छुट्टै व्यवस्था गरी प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेतले उपचारको व्यवस्था मिलाउने, हावाहुरीका कारण वनजंगलमा आगलागी तथा डढेलो लाग्ने र सोही कारणबाट वनजंगलको क्षती हुनुका साथै नागरिकको धनजनको समेत क्षती हुन सक्ने हुँदा डिभिजन वन कार्यालय, सुर्खेतले सबै स्थानीय तहसंग समन्वय गरी सचेतना एवं नियन्त्रणको व्यवस्था मिलाउने , सबै राजनीतिक दलले प्रकोपको अवस्थामा तत्काल उद्धार र राहत कार्यमा जुट्न आ–आफ्नो भातृसंगठनलाई निर्देशन दिने, गैरसरकारी संस्था महासंघले विपद्को समयमा राहत तथा उद्धार कार्यका लागि परिचालित हुन संघसंस्थालाई निर्देशन दिने, स्थानीय तहमा भएका डोजर, स्काभेटर जस्ता उपकरण र दमकलहरुको विवरण तयार गरी (चालकहरुको सम्र्पक नंं सहित) जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने, जिल्ला भित्र रहेका एम्बुलेन्स संख्या, अवस्था र चालकको नम्बर समेत जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७७ तयार गर्न समिति गठन गर्ने र उक्त समितिले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७ (पहिलो संशोधन २०७६), स्थानीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र क्षेत्रगत उप–समितिहरुको विपद् सम्वन्धी योजनालाई समेत समावेश गरी प्रतिकार्य योजना तयार पार्ने र विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन कृत्रिम घट्ना अभ्यास (Simulation) गर्नका लागि नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले आपसी छलफल गरी उपयुक्त समयमा गर्ने लगायतका निर्णयहरु भएकाे थियाे ।
